बेइजिङ– चीन र अमेरिकाले दुईबीच चलको व्यापार युद्धको एउटा मुख्य तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्क घटाउन सहमति जनाएपछि चीनले घरेलु वायुसेवा कम्पनीलाई अमेरिकी कम्पनीको बोइङको विमान खरिदमा लगाएको प्रतिबन्ध हटाएको खबर आएको छ ।
गत महीना अमेरिकी विमान निर्माता बोइङले चिनियाँ वायुसेवा कम्पनीहरुले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार गर्न छाडेको पुष्टि गरेको थियो ।
तर, मंगलबार ब्लुमबर्ग न्युजका अनुसार चिनियाँ अधिकारीहरूले घरेलु वायुसेवा कम्पनीहरूलाई उनीहरुले अमेरिकामा निर्मित विमानको अर्डर पुनः शुरू गर्न सक्छन् भनेर भन्न थालेका छन् ।
बोइङले यस विषयमा टिप्पणी गर्न अनुरोध गर्दा कुनै प्रतिक्रिया दिएको छैन । दुई देशले सोमवार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो ।
वासिङ्टनले चीनबाट आयात हुने धेरै वस्तुमा १४५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको थियो भने बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको थियो ।
जेनेभामा वार्तापछि सोमवारको घोषणाले संयुक्त राज्य अमेरिकाले ३० प्रतिशतमा कर घटाएको र चीनले आफ्नो कर १० प्रतिशतमा घटाएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणामलाई ‘पूर्ण पुनर्निर्धारण’ भनेका छन् र समकक्षी सी जिनपिङसँग चाँडै वार्ता हुन सक्ने बताएका छन् ।
कम्पनीले सन् २०२५ मा चीनलाई करीब ५० ओटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गत महीना बताएका थिए । चीनको विदेश मन्त्रालयले पनि तुरून्त टिप्पणीको अनुरोधको जवाफ दिएको छैन ।









