काठमाडौं– सरकारी निकायहरुको बेरुजु १३ खर्ब रुपैयाँ नजिक पुगेको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन २०८२ मा उल्लेख छ ।
तीनवटै तहका सरकार र मातहतका सार्वजनिक निकाय तथा संगठित संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर महालेखापरीक्षकको कार्यालय प्रतिवेदन सार्वजनिक गरेको हो ।
महालेखापरीक्षक तोयम रायाले उक्त प्रतिवेदन बुधवारै राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।
प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरूजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँभन्दा बढी छ । अद्यावधिक बेरूजु गत वर्षको भन्दा ९.४५ प्रतिशतले बढेको छ ।
त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ५ खर्ब ५१ अर्ब १ करोड गरी कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०/८१) मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरूजु थपिएको छ ।
यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण सम्पन्न भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । लेखापरीक्षणबाट विभिन्न सैद्धान्तिक बेरूजुका अतिरिक्त ९१ अर्ब ६० करोड रुपैयाँ लगती बेरूजु देखिएको छ । सोमध्ये ३ हजार ९३ संघीय सरकारी कार्यालयको ३१ खर्ब ६ अर्ब १६ करोड लेखापरीक्षणबाट ४७ अर्ब ७४ करोड अर्थात् १ दशमलव ५४ प्रतिशत बेरूजु देखिएको छ ।
प्रदेशतर्फ एक हजार १६५ कार्यालयको ३ खर्ब ८ अर्ब ५६ करोडको लेखापरीक्षणबाट ४ अर्ब २० करोड रुपैयाँ अर्थात् १ दशमलव ३६ प्रतिशत देखिएको छ ।
स्थानीय तहतर्फ ११ खर्ब १८ अर्ब ४६ करोडको लेखापरीक्षणबाट २५ अर्ब ३२ करोड अर्थात् २ दशमलव २६ प्रतिशत बेरूजु देखिएको छ । समिति र अन्य संस्थातर्फ ६९५ निकायको ५ खर्ब २२ अर्ब १३ करोडको लेखापरीक्षण भएकामा १४ अर्ब ३३ करोड बेरूजु कायम भएको छ ।
४३ संगठित संस्थाको ४५ आय वर्षको ४४ खर्ब ७ अर्ब ५ करोडको लेखापरीक्षण गरिएको छ । सोको अतिरिक्त ४२ संगठित संस्थाको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम १५ खर्ब ७७ अर्ब ४९ करोडको लेखापरीक्षण भएको महालेखाले जनाएको छ । वित्तीय लेखापरीक्षणको अतिरिक्त ११ विषयको कार्यमूलक, एक विषयको वातावरणीय, एक विषयको सूचना प्रविधि र दुई विषयको विशेष लेखापरीक्षण गरिएको जनाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९÷८० सम्म बेरूजु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा समायोजन तथा फछ्र्यौट गरिएको अंक घटाई यो वर्षको थपसमेत ७ खर्ब ३३ अर्ब १९ करोड बेरूजु बाँकी छ । त्यस्तै लेखापरीक्षणका क्रममा तथा सम्परीक्षणबाट यो वर्ष १४ अर्ब ४८ करोड असुल भएको महालेखाले जनाएको छ ।
कारबाही गरी टुंगोलगाउनुपर्ने रकम ५ खर्ब ५१ अर्ब २ करोड रहेकोमध्ये राजस्व बक्यौता ४ खर्ब ७२ अर्ब ३५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड, जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवाब्याज ४९ अर्ब ३७ करोड र लेखापरीक्षण बक्यौता ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।









