काठमाडौं– नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।’
उनले सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल नेपाली कांग्रेसका नेता पनि हुन् । उनी योजना आयोगको उपाध्यक्ष छाडेर पछिल्लो संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थए ।









