काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले ऊर्जामन्त्रीले दिउँसै रात पार्न खोजेको आरोप लगाउँदै उनलाई पदबाट हटाउनुपर्ने बताएका छन् ।

ऊर्जामन्त्रीले कसरी दिउँसै रात पारेका हुन् भनेर विस्तृत विवरण चाहिँ पुनले दिएका छैनन् । अहिले ऊर्जामन्त्रीमा दिपक खड्का छन् ।

केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पुनले ऊर्जामन्त्रीले दिउँसै रात पार्न खोजेको र उनलाई पदबाट नहटाए देश डुब्ने चेतावनी दिएका हुन् । ऊर्जामन्त्रीलाई कांग्रेस पार्टीले अथवा प्रधानमन्त्री हटाउनुपर्ने तर उनीहरुले हटाउने छाँटकाँट नदेखिएकोले बृहत् जनआन्दोलन उनलाई हटाउने अन्तिम उपाय भएको पुनले लेखेका छन् ।

पुनले स्टाटस लेखेको ५८ मिनेट हुँदा २ हजार जनाले कमेन्ट गरेका छन् भने १ हजार ५०० जनाले सेयर गरेका छन् ।

पुन पछिल्लो समय आफ्नो आत्मकथाको पुस्तक बेचेर वीरगन्जस्थित कृषि औजार कारखाना चलाउने ध्याउन्नमा छन् । उनको पुस्तक लाखौं प्रति विक्री भइसकेको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखाना सञ्चालन गर्न केन्द्रसँग सम्झौता गरे पनि पुनले सरकारले प्रतिबद्धता अनुसार रकम नदिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय