काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर बजारप्रति खुकुलो नीति लिएको छ ।

केन्द्रीय बैंकले नयाँ गभर्नर पाएको एक साताभित्रै सेयर धितो कर्जाको जोखिमभार कम गर्ने घोषणा गरेको छ । लामो रस्साकस्सीपछि अघिल्लो साता राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका थिए । उनले अर्थतन्त्रमा सुधार देखिएको र आन्तरिक बजारको माग व्यवस्थापन गर्ने मौद्रिक नीतिको जोड रहने बताएका छन् ।
राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको समीक्षामा सेयर धितो कर्जाको हालको जोखिमभार १२५ प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्ने घोषणा छ । अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यो व्यवस्था लागू भएपछि मार्जिन कर्जा वृद्धि हुने बताइन्छ ।

बैंकहरुको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकमा अनिवार्य रुपमा राख्नुपर्ने नगदको सीमा पनि बढेको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय राष्ट्र बैंकले खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । हाल बैंकहरुले दैनिक ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय