काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ, आगामी आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रीत भएर छलफल भएको चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

आइएमएफ प्रतिनिधिसँग चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक वर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं ।’

६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य हासिल गर्न सोही अनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिएको चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ पछि अंगीकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु नै रहेको अध्यक्ष अग्रवालले बताए । मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।

नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले, उपयुक्त आर्थिक नीति अंगीकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने बताए ।
आइएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधि मण्डललले चेम्बर पदाधिकारीहरुसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय