रसुवा- नेपाल र चीन सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए। यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्धारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
केरुङ बजार डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । ठूलो मालबाहक गाडी नै बगेको भिडियो सामाजिक सञ्जालमा आएका छन् । बाढीबाट ठूलो क्षति भएको अनुमान प्रत्यक्षदर्शीको छ ।
यता नुवाकोटमा बाढीमा फसेका सर्वसाधारणको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।









