काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
महानगरका उपप्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं नगरसभाको १७औं अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेस गरेकी हुन् ।
काठमाडौं महानगरमा नगरप्रमुख बालेन्द्र शाह (बालेन) र विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिबीच कुरा नमिल्दा तोकिएको मितिमा बजेट आउन सकेको थिएन ।
सरकारको नेतृत्व गरिरहेका दलहरु र तिनका जनप्रतिनिधिहरु मेयर बालेनको लोकप्रियताबाट आत्तिँदा उनीहरुले शाहलाई असहयोग गर्नुका साथै घेराबन्दीमा पार्ने प्रयास गर्दा महानगरमा विवाद छ ।
संवैधानिक प्रावधान अनुसार संघले जेठ १५, प्रदेशले असार १ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउनुपर्छ ।
डंगोलका अनुसार महानगरले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च २५ अर्ब ११ करोड ४३ लाख ११ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरेको छ ।
उक्त खर्चमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ बेहोरिने जनाइएको छ ।
संघ र प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँलाई बजेटमा खर्च बेहोर्ने स्रोतको रुपमा उल्लेख गरिएको छ ।
आगामी आवका लागि राजस्व संकलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गरी महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको अफर पनि अघि सारेको छ । महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न संघीय सरकारसँग समन्वय गरिने बताइएको छ ।









