काठमाडौं– चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै नौ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सामान विदेशबाट आयात भएको छ ।

भन्सार विभिागका अनुसार गत साउनदेखि फागुनसम्ममा नौ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको सामान आयात भएको छ । यो पोहोरको तुलनामा २.१४ प्रतिशतले बढी हो । पोहोर सोही अवधिमा नौ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो ।

भन्सार विभागका अनुसार गत फागुनमा मात्रै एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।

धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, स्टिलमा प्रयोग हुने कच्चा पदार्थ, विद्युतीय सामग्री, मोबाइल फोन, भटमासको तेल, तयारी कपडा, खाद्यान्न, तरकारी लगायत छन् ।

कोभिडको समयमा आयात घटे पनि पछिल्ला बढ्दै गएको छ । पोहोरको तुलनामा यो वर्ष आठ महिनामा निर्यात पनि बढेको छ । गत फागुनसम्ममा ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँको सामान निर्यात भएको छ । यो पोहोरभन्दा ७.८४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँका सामग्री निर्यात भएको थियो ।

यस अवधिमा व्यापार घाटा १.६३ प्रतिशतले बढेको छ । यो वर्ष फागुनसम्म व्यापार घाटा आठ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । पोहोर सोही अवधिमा व्यापार घाटा आठ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ थियो ।

कुल १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.५० प्रतिशत र निर्यातको हिस्सा ७.८८ प्रतिशत मात्र छ । सबैभन्दा धेरै व्यापार भारतसँग छ । भारतबाट मात्र ६ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । निर्यातमा पनि सबैभन्दा ठूलो हिस्सा भारतसँग छ ।

भारतमा ५८ अर्ब १९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । दोस्रो ठूलो व्यापार घाटा चीनसँग छ । चीनसँग एक खर्ब ३५ अर्ब ५८ करोड रुपैयाँको व्यापार घाटो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर