काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्यमा भारी कटौती गरेको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको हो ।
१५ दिनअघि प्रतिलिटर ५ रुपैयाँले बढाएको पेट्रोलको मूल्य अहिले त्यत्तिनै घटाएको निगमले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
बुधबार बिहानदेखि लागु हुने गरी निगमले मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा उपभोक्ताले पेट्रोल १६० रुपैयाँ र डिजेल तथा मट्टीतेल १४८ रुपैयाँ प्रतिलिटरमा पाउने छन् ।
अन्यत्र पनि पेट्रोल प्रतिलिटर ५ रुपैयाँले र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ रुपैयाँले सस्तिएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने निगमले यसपटक चलाएको छैन ।









