महेन्द्रनगर (धनुषा)- वीरगन्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा दमकल बुधबार खानेपानी आपूर्ति प्रयोजनका लागि वीरगन्न पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उहाँले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए ।
साथै सेनाले आफूसँग भएका सातवटा ट्यांकरबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।









