
काठमाडौं– अबदेखि नेपालीले पनि विदेशी अनलाइनमार्फत सामान किन्न सक्ने भएका छन् । सोको लागि नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने भएको छ ।
हालसम्म नेपालीले विदेशी अनलाइनबाट सामान किन्न चाहे पनि नेपालबाट भुक्तानी गर्न सक्दैनथे । अब भने नेपालबाटै भुक्तानी गर्ने गरी पाँच सय अमेरिकी डलरसम्मको सामान खरिद गर्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै अनलाइनमार्फत विदेशबाट खरिद गरिने वस्तु वा सेवाको भुक्तानी गर्न सकून् भनेर यस्तो सुविधा दिएको जनाएको छ ।
उक्त सुविधा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमार्फत पाइने राष्ट्र बैंकले जनाएको छ । यसका लागि प्रिपेड कार्ड जारी हुने र कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक तथा प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रिपेड कार्ड भने नेपाली बैंकहरूले नै जारी गर्न पाउनेछन् । यसअघिसम्म विदेशी कार्डमार्फत मात्रै भुक्तानी हुँदै आएको थियो । केन्द्रीय बैंकको नयाँ व्यवस्थाले वैधानिक रूपमा स्वदेशबाटै खर्च गर्न पाइने भएको हो । अब वाणिज्य र विकास बैंकले पाँच सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने छन् ।
कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा पनि सोही कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ । ग्राहकले एकभन्दा बढी बैंकबाट कार्ड लिन पाउने छैनन् । त्यस्तै कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानुन, नियम, निर्देशनको पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।