काठमाडौं– श्रमिकको न्यूनतम ज्याला बढेर १९ हजार ५५० रुपैयाँ कायम भएको छ । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपैयाँ छ ।
यो पारिश्रमिक चिया बगान बाहेकका श्रमिकलाई लागू हुने मन्त्रालयले जानकारी दिएको छ ।
यो पारिश्रमिकमा आधारभूत पारिश्रमिक १२ हजार १७०, महँगी भत्ता ७ हजार ३८० रुपैयाँ हुने बताइएको छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको हकमा ४७० रुपैयाँ आधारभूत पारिश्रमिक र २८४ रुपैयाँ महँगी भत्ता गरी दैनिक ७५४ रुपैयाँ पारिश्रमिक तोकिएको छ ।
घन्टामा आधारित ज्यालादारीमा काम गर्दा प्रतिघन्टा ६३ रुपैयाँ आधारभूत पारिश्रमिक र ३८ रुपैयाँ महँगी भत्ता गरी प्रतिघन्टा १०१ रुपैयाँ उपलब्ध गराउनुपर्नेछ । आंशिक समय काम गर्ने कामदारको हकमा प्रतिघन्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ ।
श्रमिकको न्यूनतम पारिश्रमिकमा सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीवार सहमति जुटेको हो । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पन्न त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि मसिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ कायम गर्न सिफारिस गर्ने निर्णय भएको हो ।
नेपालको श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ ।









