म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैध रूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी भए पनि ती अमेरिकी आफ्नो देश फर्कन मान्दैनन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् ।

विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानुन छ । बस्न चाहे अध्यागमन विभागबाट भिसाको म्याद थप्नुपर्छ । अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानुनी प्रावधान छ । नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काएको पनि छ ।

लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन् । २०७६ मंसिरदेखि शिखको सि यू होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लोपटक थप गरिएको भिसाको म्याद सन् २०२० मार्च १८ मा सकिएको छ । त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन ।

होटल सञ्चालक यामकुमारी पुनले जोइलले स्वदेश फर्कने इच्छा नदेखाएको बताइन् । ‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको, बसेको तिरेर जान्छु भन्नुहुन्छ,’ उनले भनिन्, ‘कसरी पठाउने भन्ने अलमलमा परेका छौं । गाउँपालिकाका अध्यक्षले एक–दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।’

एक्लै रहेका जोइलले असामान्य व्यवहार गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन् । स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शंका गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैंले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय