काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ ।
कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पारे ।
पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचार सम्बन्धी सुविधा विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताए ।
‘आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ,’ उनले भने, ‘औषधि उपचारको १ लाख रुपैयाँको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ ।’
पछिल्ला वर्ष रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताए ।
गत आर्थिक वर्षसम्ममा कोषमा २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ योगदानकर्ता आबद्ध भएका छन् । सो आवमा मात्रै ८ लाख ८२ हजार ९४६ श्रमिक कोषमा आबद्ध भएका छन् । सो अवधिमा कोषको आकार ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।
नियमित योगदान गरेका योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाको उपयोग गरेबापत १५ अर्ब ७५ करोड रकम भुक्तानी गरिएको कोषले जनाएको छ । विशेष सापटी ६ अर्ब ९० करोड, घर सापटी १३ करोड र शैक्षिक सापटी १ करोड गरी कुल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड भुक्तानी भएको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए ।









