काठमाडौं– नेबिको लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच बिहीवार सेयर निष्कासनसम्बन्धी सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ । यसको व्यापार विभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स कम्पनीका हालका मुख्य उत्पादनहरु हुन् ।

आगामी आर्थिक वर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र विदेशमा विस्तार गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ । यसको लागि हेटांैडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माण सम्पन्न भइरहेको र आवश्यक मसिन खरिद प्रक्रिया अघि बढेको कम्पनीका कार्यकारी प्रमुख होमनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय