काठमाडौं– विश्वका ९९ देशका पासपोर्टको र्याङकिङसम्बन्धी एक प्रतिवेदनले नेपालको पासपोर्ट र्याङकिङमा माथि आएको देखाएको छ । तर नेपालले पाएको अंक भने अघिल्लोपटकको तुलनामा घटेको छ ।
कुनै देशको राहदानीवाहकले अर्को देश प्रवेशमा पाउने सहज पहुँचबारे तुलनात्मक अध्ययन गर्दै आएको हेनेली एन्ड पार्ट्नर्स नामक अन्तर्राष्ट्रिय कम्पनीको ताजा प्रतिवेदनमा नेपाल ३८ अंकसहित ९५औं स्थानमा देखिएको हो । यसअघि गत जनवरीमा प्रकाशित प्रतिवेदनमा नेपाल ३९ अंकसहित १०१ नम्बरमा थियो ।
उक्त सूचीमा सिंगापुर १९३ अंकसहित शक्तिशाली पासपोर्ट सूचीको शीर्ष स्थानमा छ । जापान र दक्षिण कोरिया समान १९० अंकसहित दोस्रो स्थानमा छन् । अमेरिका छैटौं र चीन ६०औं स्थानमा छन् ।
लिबियाले नेपाल बराबर ३८ अंक पाएको छ । पाकिस्तान, इराक र सिरिया नेपालभन्दा पछाडि छन् । अफगानिस्तान सूचीको सबैभन्दा पुछार अर्थात् ९९औं स्थानमा छ ।
आप्रवासनको विषयमा काम गर्ने उक्त कम्पनीले विश्वका १९९ अलगअलग पासपोर्ट र वाहकलाई २२७ गन्तव्यमा प्राप्त हुने सहज पहुँचको तुलना गर्ने गर्छ ।
कम्पनीको वेबसाइटमा उल्लेख गरिएअनुसार अन अराइभल भिसा पाउने राहदानीले धेरै अंक पाउँछन्।
कम्पनीका अनुसार यी सूचकांक इन्टरनेसनल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले उपलब्ध गराउने विशिष्ट तथ्यांकमा आधारमा अद्यावधिक गरिन्छ ।
पछिल्लो सूचकांक अनुसार संसारकै शक्तिशाली सिंगापुरको राहदानीवाहकले २२७ गन्तव्यमध्ये १९३ वटामा भिसा नलिई जाँदा पनि प्रवेश पाउँछन् ।
जापान र दक्षिण कोरियाका राहदानीवाहकले १९० गन्तव्यमा प्रवेश पाउँछन् भने छिमेकी भारतका राहदानी वाहकले ५९ देशमा पहिलो भिसा नलिई जाँदा पनि प्रवेश पाउँछन् ।
नेपालले ३८ देशमा र अफगानिस्तानले सबैभन्दा कम २५ देशमा मात्रै यस्तो सुविधा पाउने उक्त सूचकांकमा उल्लेख छ ।









