काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिँदा कारोबार रकम साढे २६ अर्ब रुपैयाँ नाघेको छ । नेप्से परिसूचक १८ दशमलव ४४ अंकले घटेर २९६४.२० को बिन्दुमा कायम भएको हो ।
आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २ लाख ३ हजार ६५८ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।
विकास बैंक समूह १ दशमलव २३, उत्पादन तथा प्रशोधन १ दशमलव ०८, म्युचुअल फन्ड ० दशमलव ३९ र व्यापार समूह १ दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ ० दशमलव ७१, वित्त १ दशमलव ९९, होटल तथा पर्यटन १ दशमलव ७९, जलविद्युत् १ दशमलव ०९, लगानी १ दशमलव ६६, जीवन बिमा १ दशमलव ३५, निर्जीवन बिमा ० दशमलव ६७ र अन्य समूह ० दशमलव ८६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शयर मूल्य ६ दशमलव ३४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको १ अर्ब २ करोड ३ लाख ३५ हजार ९२३ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको सेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।









