काठमाडौं– एकाएक सम्पर्कविहीन बनेका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका हायू परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडामा भेटिएका छन् ।
उनीहरुलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ ।
कास्की प्रहरीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरु त्यहाँका दुईजनाको घरमा बाँडिएर बसेको अवस्थामा फेला परेका हुन् । गोलन्जोर गाउँपालिका–६ को जंगलछेउ एकान्त ठाउँमा बसोबास गर्ने उक्त परिवारका सदस्यहरु गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।
उनीहरुको घरबाट नजिकको छिमेकीको घर पुग्न हिँडेर १५ मिनेटजति लाग्ने स्थानीयको भनाइ छ । उनीहरु घरमा पालेका बाख्रा, अलि पर गोठमा पालेको भैंसी त्यत्तिकै छाडेर हिँडेका थिए । उनीहरुको घरमा करीब ३ किलो मासु पनि भेटिएको थियो ।
अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको ओलियाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सिसुवाले उनीहरू सोमबार राति पोखरा महानगरपालिका–३० मा भेटिएको बताएको छ ।
उनीहरु शनिवार पोखरा पुगेर त्यहाँको होटल जननीमा बास बसेको होटल सञ्चालकले बताएका छन् । उनीहरु आइतबार होटल हिँडेका थिए ।
सुरुमा एकै परिवारका १६ जना बेपत्ता भएको भनिए पनि घरमुली उर्मिला हायुकी माइली छोरी सुजाताले प्रहरीलाई सम्पर्क गरी आफू नहराएको बरु श्रीमानसँग काठमाडौं बस्दै आएको जानकारी गराएकी थिइन् ।









