सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३० मत परेको र यो संख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
आजको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।
नेपाली कांग्रेसका १८ नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिए । नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)पार्टीका (निलम्बित एक सदस्यबाहेक) ३, राप्रपाका १ र स्वतन्त्र १ सदस्यले विपक्षमा मत दिए ।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिएका छन् । सो पार्टीका अन्य ६ जना सदस्य भने बैठकमा अनुपस्थित रहे ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ५३ सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी निलम्बित छन् ।









