काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि आज कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । सो आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स समेतले कर्जा लगानी गर्नेछन् ।
शुक्रबार यहाँ आयोजित एक विशेष समारोहमा कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे ।
करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४ दशमलव ५ घण्टाको पिकिङ क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४ दशमलव १ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८ दशमलव ९ मिटर र नेट हेड ७३५ दशमलव ६ मिटर रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईंले जानकारी दिए।
आयोजनाबाट वार्षिक १ हजार २२९ दशमलव ६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० के।भी।को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ करोड रुपैयाँ हुनेछ ।
आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।
स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।









