काठमाडौं– काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनको नेतृत्व गरेका कारण सरकारले पक्राउ गरी मुद्दा चलाएका दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले ३ लाख रुपैयाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ ।
उनीविरुद्धको अर्को मुद्दामा भने उच्च अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । प्रसाईविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि चलिरहेको थियो । उक्त मुद्दामा २५ लाख रुपैयाँ धरौटी मागिएको हो ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो ।
त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई पनि अदालतले ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अर्का प्रतिवादी दण्डपाणी रेग्मीसँग १० हजार धरौटी मागिएको छ ।









