काठमाडौं– नेप्से एआई नामको मोबाइल एपमार्फत एकजना नेपालीको बैंक खातामा रहेको २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट बैंक खातामा रहेको उक्त रकम चोरी भएको उजुरी परेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।
सीआईबीका अनुसार एक व्यक्तिले ‘नेप्से एआई’को प्रयोग गर्दा आफ्ना विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर हुनुका साथै मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरू मेटाएको उजुरी दिएका छन् ।
सीआईबीले अपरिचित लिंक तथा एपहरू क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न पनि आग्रह गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ ।
यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको सीआईबीले विज्ञप्तिमार्फत सचेत गराएको छ ।









