काठमाडौं– यातायात व्यवस्था विभाग असोज १ गतेबाट सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर लागू गर्ने निर्णयमा लचिलो बनेको छ ।

विभागले यसअघि आगामी असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट हुनुपर्ने निर्णय गरेको थियो ।
जनस्तरबाट उक्त निर्णयको चर्को आलोचना भएपछि विभाग लचिलो बनेको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै असोज १ पछि इम्बोस्ड नम्बर प्लेट नहुँदैमा जरिवाना नगरिने र सवारीधनीले आफ्नो अनुकूलता अनुसार इम्बोस्ड नम्बर प्लेट हाले हुने जानकारी गराएको छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णइ भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ– साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ ।’

विभाग तथा मातहतका प्रदेश कार्यालयहरुबाट इम्बोस्ड नम्बर प्लेट जडानमा सहजताका लागि ती स्थानहरुमा उक्त स्थानहरुमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीको सहजताका लागि आवश्यकताअनुसार प्रबन्ध समेत गरिँदै आएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय