काठमाडौं– यमनको हुथी विद्रोहीले गत बिहीबारको इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल–रहवीको मृत्यु भएको पुष्टि गरेको छ।
हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठूलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको बताएको छ । गत बिहीबार इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले यमनको राजधानी सनालाई निशाना बनाएर आक्रमण गर्दा अन्य कैयौंं वरिष्ठ अधिकारी समेत मारिएको इरान समर्थित समूहले जनाएको छ।
आईडीएफका अनुसार इजरायली लडाकु विमानले सना क्षेत्रमा भेला भएका मानिसहरूमाथि आक्रमण गर्दा रहावी र अन्य वरष्ठ हुथी अधिकारीहरू मारिएका थिए।
सन् २०१४ यता हुथी विद्रोहीहरूले सनाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सत्ताच्युत गरी विनाशकारी गृहयुद्ध सुरु गरेपछि उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन्।
हुथी विद्रोहीले रहावी र केही हुथी मन्त्रीहरूसँगै मारिएको दाबी गरे पनि अन्यको भने नाम खुलाएको छैन। साउदी अरेबियाको समाचार साइट अल हदाथका अनुसार हुथी विद्रोहीका विदेशमन्त्रीका साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रम मन्त्रीको मृत्यु भएको छ।
हुथी विद्रोहीका राष्ट्रपति महदी अल मसतको कार्यालयले आक्रमणका कारण अन्य कैयौं मन्त्रीहरू मध्यमदेखि गम्भीर रूपमा घाइते भएको जनाएको छ।
हुथी विद्रोहीका उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिका सम्हाल्ने उक्त कार्यालयले जनाएको छ। रहावीले सन् २०२४ को अगस्टदेखि आफ्नो पद सम्हाल्दै आएका थिए र उनलाई सैन्य अभियानको योजना बनाउने शीर्ष निर्णय गर्ने समूहको हिस्सा हुनुको सट्टा आन्दोलनको प्रमुखको रूपमा हेरिएको थियो।
बिहीबारको आक्रमणमा मारिएकामध्ये आन्दोलनका नेता अब्दुल मलिक अल–हुथी, समूहका रक्षामन्त्री र चिफ अफ स्टाफको नाम समावेश गरिएको छैन।
आईडीएफले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उक्त भेलाबारे गुप्तचर सूचना प्राप्त भएको केही घण्टाभित्रै आक्रमण गरेको जनाएको छ।
उसले अझै पनि कारबाहीको पूर्ण प्रभावबारे मूल्यांकन गरिरहेको जनाएको छ। गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएयता हुथी विद्रोहीहरूले इजरायलमाथि नियमित रूपमा क्षेप्यास्त्र प्रहार गर्दै आएका छन्। प्यालेस्टीनीहरूसँग ऐक्यबद्धताका लागि भन्दै उनीहरूले रेड सी र गल्फ अफ एडनमा रहेका व्यापारिक पानीजहाजहरूलाई निशाना बनाएका छन्।
इजरेलले हुथीको नियन्त्रणमा रहेको यमनका केही स्थानमा हुथी आक्रमणलाई रोक्ने उद्देश्यले हवाई आक्रमण गरेको छ। एएफपीका अनुसार अल रहावीलाई अन्तिम पटक बुधबार सनामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।
‘हामी अहमद गालिब नासेर अल९रहावीको मृत्युभएको घोषणा गर्दछौं,’ हुथी विद्रोहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आक्रमणमा घाइते भएका अन्य कैयौं सहकर्मीको अस्पतालमा उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।








