नुवाकोट– जिल्लाको बेलकोटगढी नगरपालिका–१२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले हाल अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
सोही विद्यालयका पूर्वविद्यार्थीद्वय राजाराम अधिकारी र हेमप्रसाद भट्टले झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरेको शैक्षिक सामग्री वितरण कार्यको समन्वय गरेका अर्का पूर्वविद्यार्थी उद्धव खनालले जानकारी दिए ।

शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको थियो । खनालले उक्त विद्यालयका विद्यार्थीलाई पूर्वविद्यार्थीमार्फत न्याना कपडा लगायत शैक्षिक सामग्री उपलब्ध गराउने कामको समन्वय गर्दै आएका छन् । यसअघि उनकै संयोजनमा विद्यार्थीलाई न्याना कपडा वितरण गरिएको थियो ।
सहयोगदातामध्येका अधिकारी व्यवसायमा संलग्न छन् भने अर्का दाता भट्ट शिक्षा मन्त्रालयमा कार्यरत छन् ।









