काठमाडौं- जेनजीको प्रदर्शन क्षेत्र काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू आदेश जारी गरेको छ ।
केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद् भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो। प्रहरीले हवाई फायर पनि गरेको छ ।
सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी भएको हो।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।
त्यस्तै बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।
जेनजी पुस्ता भनिने सन् १९९७ देखि २०१२ भित्रको अवधिमा जन्मिएका युवाले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा सोमबार प्रदर्शन गरेका हुन्।










