काठमाडौं– आन्दोलनका लागि सडकमा उत्रेका जनता मार्ने काममा खड्गप्रसाद शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारले कीर्तिमान कायम गरेको छ । आन्दोलन सुरु भएको ५ घन्टा जतिमा यो सरकारले कम्तीमा १४ जनाको हत्या गरिसकेको छ ।
दिउँसो साढे ३ बजेसम्ममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जनाको मृतयु भइसकेको छ ।
प्रहरी दमनमा दर्जनौं घाइते भएको र तीमध्ये कैयौंको अवस्था चिन्ताजनक रहेकोले मृतकसंख्या अझै बढ्न सक्ने ठानिएको छ ।
यति छोटो अवधिमा यति धेरै प्रदर्शनकारीको ज्यान गएको यो पहिलो घटना हो । २०६२–६३ मा व्यवस्था नै बदल्ने आन्दोलन १९ दिन चल्दा देशभर २६ जनाको ज्यान गएको थियो । उक्त आन्दोलनमा ज्यान गुमाएका २६ जनालाई त्यसपछि आन्दोलनकारीको नेतृत्वमा बनेको सरकारले सहिद घोषणा गरेको थियो । त्यसमा पनि एकै दिन दर्जन हाराहारीको ज्यान सरकारले लिएको थिएन ।
त्यसअघि २०४६ सालको जनआन्दोलनमा ज्यान गुमाएका १९ जनालाई त्यसपछि आन्दोलनकारीकै नेतृत्वमा बनेको सरकारले सहिद घोषणा गरेको अभिलेख छ ।
जेन जी पुस्ताले आह्वान गरेको प्रदर्शनमा उत्रेका माथि सरकारी सुरक्षाकर्मीले अन्धाधुन्द गोली वर्षाउँदा उक्त संख्यामा सर्वसाधारण मारिएका हुन् ।
जेनजी पुस्ताले सोमबार बिहान ९ बजेदेखि शान्तिपूर्ण प्रदर्शन आह्वान गरेको थियो । तर तिनै प्रदर्शनकारीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दा स्थिति बिथोलिन पुग्यो ।
बल प्रयोग नै गर्नुपर्दा पनि लाठी लगायत कम घातक हतियार प्रयोग गर्नुपर्ने र चेतावनी फायर मात्र खोल्नुपर्नेमा प्रहरीले सशस्त्र युद्ध मैदानमा दुश्मनलाई हाने झैं गोली हान्दा हताहत हुनेको संख्या बढेको हो ।









