काठमाडौं– जेनजी प्रदर्शनका क्रममा मंगलवार भड्केको हिंसाका क्रममा सिंहदरबारमा आगजनी भएर त्यहाँका अधिकांश भौतिक संरचनामा क्षति पुगे पनि सरकारी निकाय र कार्यालयहरूको डिजिटल अभिलेख (डाटा) भने सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्र प्रमुख मनीष भट्टराईका अनुसार आईडीएमसीले आप्mना डाटालाई सुरक्षित राख्न हेटौंडामा स्थापना गरेको डिजास्टर रिकभरी (डीआर) कार्यालय पूर्ण रूपमा सुरक्षित छ । ‘कतिपयले हेटौंडाको डीआरमा पनि आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला फैलाएका
छन् तर यो सब अफवाह मात्र हो,’ भट्टराईले भनेका छन् ।
आईडीएमसीअन्तर्गतका अधिकांश सरकारी निकाय र कार्यालयका डाटा सुरक्षित रहेको भए पनि केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण त्यहाँ क्षति हुने सम्भावना रहन सक्ने उनको भनाइ छ । सर्वोच्च अदालतका पनि केही महत्त्वपूर्ण डाटा हेटौंडास्थित डीआरमा सुरक्षित रहेको उनले बताए ।
आन्तरिक राजस्व विभाग, राहदानी विभाग र अध्यागमन विभागले आफ्नै डाटा सेन्टर सञ्चालन गर्दै आएका छन् । तैपनि यी निकायले आईडीएमसीअन्तर्गतको डीआरमा ब्याकअप राखेकाले क्षति भएमा पनि रिकभर गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।









