काठमाडौं– जेनजी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका छन् । तर भ्रष्टाचार र पछिल्लो आन्दोलनमा भएको दमनबिरुद्ध अधिकारसम्पन्न आयोग बनाएर छानबिन गर्न तीन दलका नेताहरू असहमत भएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको बुझिएको छ।
तीन प्रमुख दलका नेताहरू शीतलनिवासमै उपस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमा कुराकानी गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्याधिक बल प्रयोग तथा ५१ जनाको ज्यान गएको घटना र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका छन्।
दलहरूले यी उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश बढ्ने भएकाले गठन गर्न अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ।
दलहरूले यो विषय अस्वीकार गरेपछि वार्तास्थलबाट प्रस्तावित प्रधानमन्त्री कार्कीले ‘हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिँदैन’ भनेको स्रोतको भनाइ छ ।
राष्ट्रपति पौडेल संविधानकै मातहत रहेर समाधन खोज्न प्रयत्नशील रहेको भन्दै तीनै दलका प्रमुख नेताहरू र सभामुख देवराज घिमिरेसँग पनि अन्तरिम सरकार गठन प्रक्रिया र भावी कदमबारे बिहीबार दिनभरि र शुक्रबार बिहान चार बजेसम्म पनि छलफलमा बसेका थिए ।
शुक्रबार दिउँसो सरकार गठन प्रक्रियाबारे थप छलफल गर्ने भनिए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।









