सिरहा– हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन्। छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहेकी छिन् । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी’ आन्दोलनमा सरकारले गरेको दमनका कारा गत मंगलबार संसार छाडिसकेका छन् ।

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रस्ट देखिन्छ । आशा, डर अनि थोरै शंका । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । ‘गोली लागेको रे, तर उपचार भइरहेको छ,’ नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौं भइसकेको छ ।

घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौंडामा बस्दै आएकी विजयकी दिदी काठमाडौं पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छिन्– ‘भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा छैन । होसमा आएपछि खबर गर्छु ।’

सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । गत मंगलबार काठमाडौंको बानेश्वरमा ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

पाँच वर्षदेखि काठमाडौंमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

भाइलाई गोली लागेको खबर पाएपछि हेटौंडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौं पुगिन् । उनले राजधानीका दर्जनौं अस्पताल चाहारिन्। चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पर्यो । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन्। त्यसपछि विक्षिप्त बनेकी सुशीलाले बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् । ‘छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवानसँग कामना गरेकी छु,’ आमा जलेश्वरीदेवीले भनिन् ।

विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै छन् । उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएका हुन् । सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनीको श्रीमती अझै अर्धचेत अवस्थामा छिन्। छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– पक्कै आउँछ नि !

सबैसँग मिलेर बस्नसक्ने उनको स्वभाव थियो । लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, ‘विजय सधैं शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।’ उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उनलाई गोली लाग्यो ।

गाउँमा अहिले सिंगो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय