काठमाडौं– पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्त्विक, कार्गाे, कुरियर श्रमिक युनियन (युनिट्राभ)को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँदै युनिट्राभले मंगलबार ज्ञापनपत्र बुझाएको हो । पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गर्दै विभिन्न १७ बुँदा समेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानुन नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आइटी टिम्स बन्द गर्नुपर्ने लगायतका माग श्रमिकहरुको छ ।

यस्तै युनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी, विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर उद्धारमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

युनिट्राभले पर्यटक कुन देशको हो र बिमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई मध्यनजर गर्दै आपतकालीन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेचर गाइड र सफारी श्रमिकको कार्य व्यवस्थित पार्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवनरक्षाका लागि राहत र विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था, महिला पथप्रदर्शकमाथि हुने विभेदको अन्त्य, पदमार्ग क्षेत्रमा रहेका सिन्डिकेटको अन्त्यलगायत विषय युनिट्राभले उठाएको छ ।

यसैगरी, युनिट्राभले विकासका नाममा बजेट सिध्याउन पदमार्गमा डोजर चलाउने र प्रकृतिमाथि दोहन गर्ने कार्यको अन्त्य गर्न भनेको छ । मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर आवश्यक कदम चाल्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय