मुस्ताङ– लोमान्थाङस्थित कोरला नाकाबाट १०० भन्दा बढी विद्युतीय सवारी आयात गरिएको छ । चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयले कोरला नाकाबाट ५०० भन्दा बढी बीवार्इडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिनअघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० भन्दा बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो । ‘भन्सार कार्यालयका अनुसार कोरला नाकाबाट ५०० भन्दा बढी ईभी ल्याउने जनाइएको छ,’ उनले भने ।

चीनबाट आयातित विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।

यो नाकाबाट गाडीसहित पर्व लक्षित लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ । चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन् ।

मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरला नाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय