काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्यालसँग आज सिंहदरबारमा भेटवार्ता गरेको हा ।

गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित गर्न र लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो ।

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यावसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

उनले भने, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशतभन्दा बढी छ, विकसित पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए ।

वर्तमान अवस्थामा सरोकारवाला गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदानप्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्नेमा चेम्बरले जोड दिएको छ । प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ ।

चेम्बरको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजिटल सुरक्षा तथा संकट व्यवस्थापनसम्बन्धी तालिम सुरक्षा निकायलाई उपलब्ध गराउन आवश्यक देखिएको छ ।’

यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गृहमन्त्री अर्यालसमक्ष व्यक्त गरेको छ ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरुमा आन्तरिक परिपत्र जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय