काठमाडौं– मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द रहेको भीमफेदी–कुलेखानी–काठमाडौं सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।
वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ ।
ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए ।