काठमाडौं– मुलुकको संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा १ लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा १ लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैं मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौंसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,’ महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले आग्रह गरे ।

पछिल्ला दिनमा काठमाडौं गोंगबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैंमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको संख्या बढेको छ । उनका अनुसार अन्य समय ४-५ हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त संख्या बढेर दैनिक १५ हजारभन्दा माथि पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय