काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन पत्राचार भएको छ । उनीहरुले काठमाडौं उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने भएको छ ।
भदौ २३ र २४ को आन्दोलनमा भएको चर्को दमनको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई जुन सुकै बेला आयोगमा बयानका लागि बोलाउनुपर्ने भएकोले उपत्यका छाड्न पनि अनुमति लिनुपर्ने उल्लेख छ ।
ओली नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध भदौ २३ गते प्रदर्शनमा उत्रेका ४ दर्जन हाराहारी निशस्त्र नागरिकको ज्यान लिएको थियो । निहत्था नागरिकको हत्याबाट आक्रोशित भिडले भोलिपल्ट खर्बौ मूल्यको निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको थियो ।









