काठमाडौं– मनसुनी वर्षाजन्य बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशअन्तर्गत पर्ने मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभा जिल्लामा दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका–४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढीपहिरोका कारण महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएको प्रहरीको भनाइ छ । गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल र चीन नाका जोड्ने पुल असार २४ गतेको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने पासाङ ल्हामु राजमार्ग खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउनका लागि सम्बन्धित निकायहरूले प्रयास गरिरहेका नेपाल प्रहरीले जनाएको छ ।









