लुम्बिनी– नेपाल एयरलायन्सले अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौं ल्याउँदै छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारीमा छ । यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।
यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौं, यसबाट काठमाडौं जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।
चार्टर फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौं चार्टर उडान गर्न थालेको हो ।









