काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्त्वपूर्ण संरचना जल्दा पछि छेवैमा रहेको काठमाडौं महानगरले दमकल नपठाएको भन्ने आरोपको खण्डन गदै महानगरका मेयर बालेन शाहले त्यस दिन महानगरको दमकल परिचालन भएको सम्पूर्ण विवरण सार्वजनिक गरेका छन् ।
उनले झुटा कुराको प्रचार गरिँदा आगो नियन्त्रण, घाइते र बिरामीको उद्धार तथा व्यवस्थापनमा रातदिन नभनी खटिएका महानगरकर्मीको अपमान हुने समेत बताएका छन् ।
बालेनले मंगलबार साँझ आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको स्पष्टीकरणको पूर्ण विवरण यस्तो छ:
‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ?’, ‘तीन दिनसम्म जलेको हेरेर बस्यो’, ‘सिंहदरबार जलाउने नै बालेन शाह हो’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।
हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवश्यक जो सुकैले सूचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नुभयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला ‘राज्य’ नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन ।
सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके । यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौं मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधी व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्यांक संकलन, जलेका गाडीहरुको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्डमा खटिनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो– हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरी जम्मा जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ सिफ्ट मा काम गर्नुहुन्छ, १ सिफ्ट मा १ दमकलमा बढीमा ३ जना मात्र जनशक्तिमार्फत दमकल सञ्चालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिंगो देश जल्दै थियो । महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौ दमकल को ५ः२३ गते दिउसो १ः३० देखि ५ बजे सम्म संसद भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो, २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन, २४ गते राति ८ बजेदेखि १ बजेसम्म बिशाल बजार जनसेवा प्रहरी वृत, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो। २४ गते नै राति ८ः१५ देखि ९ः४५ सम्म, २४ गतेको राति २५ गते बिहान १ः४५ देखि ३ः०० बजेसम्म, २६ गते दिउँसो ३ः३० देखि ६ः५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए। २५ गते दिउँसो १२ः२० देखि १ः३० सम्म संसद् भवन, २५ गते नै दिउँसो ३ः३० देखि ४ः३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायतका स्थानमा, २६ गते बिहान ९ः२५ देखि १०ः१५ सम्म, २७ गते बिहान ८ः०० देखि ९ः१५ सम्म, सोही दिन साँझ ४ बजेदेखि ६ बजेसम्म सर्वोच्च अदालत परिसरमा आगो निभाएको, त्यहाँको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गतेसम्म हाम्रो दमकलमाथि उल्लेखित र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ग्रान्डी अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एनसेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग, भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभाग लगायतका स्थानमा ५५ पटकभन्दा धेरै हाम्रो दमकल पुगेको छ। जसको विस्तृत विवरण यहीँ राखेको छु। सँगसँगै हिल्टन होटल, वर्णवास होटल लगायतबाट सेना समेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौं– स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापनको ,संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगरभित्रका सम्पूर्ण अस्पताललार्इ निःशुल्क उपचारको लागि समन्वय, अस्पतालको लागि आवश्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरुको लागि निःशुल्क खाजा र खाना, अन्य आवश्यक लजिस्टिक, सुत्नको लागि म्याट लगायत अन्य सामग्रीको व्यवस्थापनमा महानगरको सचिवालय, नगरप्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम रात दिन खटिएको थियो। उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरुको अभिभावक हाम्रो टिम बनेको थियो । यतिसम्म कि, अपरेसन गर्दा इन्फम्र्ड कन्जेन्ट फर्ममा समेत हाम्रो नगरप्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापनको लागि परिवारलार्इ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगरले गरेको थियो । यतिसम्म कि नेपाली सेना लगायत अन्यको सहकार्यमा लासलार्इ घरसम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौं।
अन्त्यमा,
प्रिय आमा बुवा,दाजु भाइ, दिदीबहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिनातथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरुसँग सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध– कृपया सत्यतथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौं, मलाई यसको कुनै जस चाहिएको छैन । कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलार्इ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।
सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔं।
अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन ।।









