काठमाडौं– चालू वर्ष सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो वर्ष सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डको तथ्यांकअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट ५ हजार २३७, अमेरिकाबाट ९ हजार ६७९, श्रीलंकबाट ३ हजार १५ र बंगलादेशबाट २ हजार २३० पर्यटक भित्रिएका छन् ।









