काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारविरुद्ध नेकपा (एमाले) सडकमा उत्रिने चेतावनी दिएका छन् । जेनजी आन्दोलनकै कारण एक महिनाअघि सत्ताबाट लघारिएका ओलीले बिहीवार भक्तपुरको गुण्डुमा एक कार्यक्रम गरी अन्तरिम सरकार र यसका कदमविरुद्ध सडकमा ओर्लिने चेतावनी दिएका हुन् । उनले जेनजी आन्दोलनको एक महिना पुगेकै दिन सरकारलाई चेतावनी दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता नेतृत्व र आन्दोलनपछिको राजनीतिक परिदृश्यप्रति प्रश्न उठाउँदै यसको प्रतिवाद गर्ने घोषणा गरे ।

उनले अहिलेको सरकार, यसले भदौ २३ र २४ हो नरसंहार, लुटपाट र आगजनीको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोग, संसद् विघटन र आफ्नो पासपोर्ट रोक्का लगायतका विषय अस्वीकार गर्ने बताए । ओलीले आफूहरूले विघटित संसद् पुनर्स्थापनाको माग अघि बढाउने पनि बताए । सरकारले फागुन २१ गतेका लागि संसदीय चुनावको मिति तोकिसकेको छ ।

सभामा बोल्दै ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए । उनले वर्तमान सरकार र संसद् विघटनका दुवै कार्य असंवैधानिक भएको तर्क गरे ।

प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले बताए । उनले भने, ‘नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ ।’

ओलीले जेनजी विद्रोहमा भएको सरकारी दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताए ।

‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने । यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन,’ ओलीले भने ।

ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाए । उनले आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताए ।

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन र देश चलाउने कुरा ठट्टा नभएकाले ख्याल गर्न सुझाए ।

‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने, देश चलाउने ख्याल ठट्टा होइन ।’

‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन । देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं,’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय