बारा– टिकटक भिडियो बनाउन दुधौरा खोलाको पुलबाट असोज १९ गते हाम्फालेका व्यक्तिको शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँ असोज १९ गते टिकटक भिडियो बनाउन खोलामा हाम्फालेका थिए । घटनाको ६ दिनपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनको शव गण्डक जाने बंगरी पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम्फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हाम्फालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको थियो।









