काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट उपभोग गरेको बिजुलीको प्रिमियम महशुल कात्तिक २ गतेसम्म नतिरे ती उद्योगहरूमा विद्युत् आपूर्ति रोक्ने चेतावनी दिएको छ ।
तोकिएको समयमा बक्यौता भुक्तानी नगरे सबै उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम उठाउने निर्णय गरेअनुसार कात्तिक २ गतेसम्म बक्यौता बुझाउने समय दिइएको प्राधिकरणका प्रवक्ता राजन ढकाल बताउँछन् । ‘उक्त मितिमा महशुल नबुझाउने उद्योगहरूको लाइन काट्ने सूचना जारी गरिएको छ,’ उनले भने ।
उनका अनुसार प्राधिकरणले उक्त डेडलाइन राखेर यसअघि नै सूचना प्रकाशित गरे पनि अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन् । केही उद्योगी भने छलफलका लागि आएका छन् ।
प्राधिकरणले कात्तिक २ गते राति १२ बजेपछि बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री कार्यभार सम्हालेपछि बक्यौता उठाउने निर्णय गरेका थिए । प्राधिकरण सञ्चालक समिति बैठकबाट पनि उक्त बक्यौता उठाउने निर्णय भइसकेको छ ।
उद्योगीहरूले भने टीओडी मिटरको विवरण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।
प्राधिकरणले सर्वसाधारणलाई १८ घन्टासम्म लोडसेडिङ हुँदा ती उद्योगहरुलाई प्रिमियम महशुल तिर्ने सर्तमा डेडिकेटेड फिडर तथा ट्रंक लाइन २४ सै घण्टा विद्युत् उपलब्ध गराएको दाबी गरेको छ ।
प्राधिकरणले बक्यौता रकम भुक्तानीको लागि २८ किस्तामा तिर्ने सुविधा समेत दिएको छ ।









