झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ संकलन गरेको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ ११ करोड ३ लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ ।

जेनजी आन्दोलनबाट प्रभावित मानिएको असोजमा समेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको कार्यालयले जनाएको छ ।

कार्यालयले असोजमा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ असुली गरेको सूचना अधिकारी हुमागाईंको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय