बझाङ– साइपाल गाउँपालिका– ६ का जगत तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आएका छन् । पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उनी काठमाडौंमा छन् । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन घोषणा ग¥यो । त्यसँगै उनी पसल बन्द गरेर नेपाल फर्किए ।

उनी मात्र होइन हुम्लाका तासी लामा, दार्चुलाका योगेश बोहरालगायत करिब दुई सय नेपाली व्यापारी स्वदेश फर्किए । उनीहरु नेपाल फर्केको झण्डै दुई वर्ष पुग्नै लागेको छ । कोभिड–१९ को महामारी सुरु भएपछि प्रभावित नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन ।

ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको तामाङ बताउँछन् । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाइ छ । उनले भने, ‘लकडाउन भएसँगै पसल बन्द गरेर नेपाल आइयो । अहिलेसम्म खोल्न पाएको छैन ।’

पसल सञ्चालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन । ताक्लाकोट जान नपाउँदा आफूहरु मर्कामा परेको उनी बताउँछन् ।

अहिले पनि समयसमयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन् । नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । संघीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आएका दार्चुलाका बोहरा बताउँछन् ।

‘चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ,’ उनले भने ।

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हाते होजियरी, नेपाली गलैंचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुर्पी, खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ । ताक्लाकोटलगायत नजीकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ । त्यहाँ हाते होजियरी र हस्तकलाका सामान नेपाली बजारभन्दा तीन गुणा महँगोमा बिक्री हुने गरेको छ ।

तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने सहर ताक्लाकोट भएर नै हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जानुपर्ने हुन्छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको सो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय