काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेबापतको प्रिमियम महशुल नतिर्ने थप १८ उद्योगको बिजुली काटिदिएको छ । यसअघि प्राधिकरणले ६ उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ उद्योगको बिजुली काटेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेस्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।
यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौती गरिएको थियो ।
कुल ८ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहीले किस्तामा तिर्न थालेको र केही कानुनी प्रक्रियामा गएका प्रवक्ता ढकालले बताए । ‘डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महशुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्ताती गर्न थालेका छन् भने ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता छ,’ उनले भने ।
डेडिकेटेड र ट्रंकलाइनको महशुल उठाउने विषय २०७५ साल यता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताबारे अध्ययन भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ । उद्योगी–व्यवसायीहरुले भने आफूहरुले डेडिकेटेड र ट्रंकलाइन प्रयोग नै नगरेकाले त्यसको महशुल नतिर्ने अडान लिँदै आएका छन् । यो विषय अदालत, संघीय संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।
प्राधिकरणले गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महशुल संकलन नियमावली, २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।









