काठमाडौं– पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो ।

आन्तरिक र बाह्य पर्यटक भरिभराउ रहेकै बेला बेला त्यहाँ भारी वर्षा भएको छ । स्थानीय व्यवसायीका अनुसार व्यापक संख्यामा पर्यटक आउँदा उनीहरुको बसोबास व्यवस्थापन गर्नै हम्मे परेको छ ।

विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । १० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ ।

चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ ।

आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय