काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।
अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८, चारसयबेसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इन्जिनियर योगेशले बताए ।
यस्तै, रोशी-१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । ‘सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ,’ उनले भने । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडक खण्डमा ढुंगा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा-नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित चारसय बेसीमा रोशी खोलाको बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरिँदै । तस्वीर : रासस
सडकमाथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इन्जिनियर योगेशले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका-६, चौकीडाँडा, बिरुवाडाँडा डालाबेसी, नार्के, चारसयबेसी, घुमाउनेलगायत स्थानमा ढुंगा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।
गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो ।
‘सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो,’ उनले भने । बाढीपहिरोले राजमार्गको १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक सयौं यातायातका साधन गुड्छन् ।









