वीरगञ्ज– देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु वर्षको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा यो नाकाबाट ६ अर्ब १९ करोड रुपैयाँ मूल्यका सवारीसाधन आयात भएका थिए । गत वर्ष तीन महिनामा सवारीसाधन आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु वर्षको तीन महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ मूल्यको २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्बल्ड मोटरसाइकल आयातबाट ३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै गत वर्ष तीन महिनामा २ अर्ब ४९ करोड रुपैयाँ मूल्यको १९ हजार चार सय ८९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा ६२ करोड २४ लाख रुपैयाँ मूल्यको ३३० जीप, कार र भ्यानको आयात भएको छ ।
ती सवारीसाधन आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । त्यसबाट १ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
यो वर्ष साउनदेखि असोजसम्ममा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्यको २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । यसबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पोहोर तीन महिनामा वीरगञ्ज नाकाबाट १४ करोड ४९ लाख मूल्यको ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ राजस्व उठेको थियो ।









